|  

नागरिक उड्डयन प्राधिकरणको कार्यलयमा अख्तियारको छापा, केही कागजपत्र बरामद

१६ असोज, काठमाडौं ।  नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।

सिनामंगलस्थित कार्यालयमा छापा मारेर अख्तियार टोलीले प्राधिकरणबाट केही महत्वपूर्ण कागजात लिएको हो । प्राधिकरणमा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको टोलीले बुधबार छापा मारेको हो ।

विभिन्न विमानस्थल निर्माणको परियोजना र नागरिक उड्डयन प्राधिकरणको भवन निर्माणका क्रममा अनियमितता भएको उजुरी अख्तियारमा परेको थियो ।

सोही उजुरीको अनुसन्धानको सिलसिलामा आवश्यक कागजात उपलब्ध नगराएपछि छापा मारेको अख्तियार स्रोतको भनाइ छ ।अनियमिततामा संलग्न भएको आशंकामा अख्तियारले यसअघिबाटै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अनुसन्धान गरिरहेको छ ।