|  

साइकल यात्रीको मृत्युपछि विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा

१८ असोज, काठमाडौं । ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि विराटनगर महानगरपालिका-१८ मा रहेको विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा हानाहान भएको छ । बिहीबार बेलुका भन्सार कार्यालय अघि ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको थियो । त्यसको विरोधमा स्थानीयले शुक्रबार भन्सार कार्यालयमा ढुंगामुढा गरेका हुन् ।

विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साइकल यात्री ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते उनको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो। ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको भन्दै स्थानीयले आज प्रदर्शन गरेका हुन् ।

ट्रक चालकको लापर्बाहीले दुर्घटना भएको भन्दै आफन्तले शव बुझ्न मानिरहेका छैनन् भने भन्सार कार्यालयमा तोडफोडको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रुग्याँस प्रहार गरेको थियो ।