|  

पुनः सत्याग्रह सुरु गर्ने गोविन्द केसीको चेतावनी

१८ असोज, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले चिकित्सा शिक्षा आयोगले आफ्नै कर्मचारी भर्ना प्रक्रिया यथासक्य चाँडो नगरे सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

आज प्रेस विज्ञप्ति जारी गर्दै डा.केसीले आयोग शिक्षा मन्त्रालयको एउटा शाखाको रुपमा सञ्चालन भएको आरोप लगाउँदै यस्तो चेतावनी दिएका हुन् । उनले वर्तमान कार्यकारी उपाध्यक्ष र पदाधिकारीले ऐनमा उल्लेख भए अनुसार आफ्नै कर्मचारी क्रमशः राख्न छोडेर भएका कर्मचारीलाई सरुवा गरी भ्रष्ट कर्मचारीलाई लैजाने प्रकृया रहेको आरोप लगाए । ऐनमा प्रावधान भए बमोजिम क्रमशः आयोगको आफ्नै कर्मचारी नियुक्त गर्ने प्रक्रिया यथासक्य चाँडो सुरू नगरी ऐनद्वारा स्वायत्त निकायका रुपमा स्थापित संस्थालाई मन्त्रालयको एउटा शाखाको रुपमा परिणत गरी अहिलेसम्म चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा आयोगले गरेको सुधारका कार्यहरू सुनियोजित ढंगले उल्टाउने प्रयास भएको उनको आरोप छ ।

उनले आयोगका पदाधिकारीहरुले ऐनको मर्म अनुरुप काम नगरेको, मापदण्ड मिचेको र पूर्वाधार पुरा नभएका निजी मेडिकल कलेजलाई सम्बन्धन दिएको आरोप पनि लगाएका छन् ।