|  

बाढीबाट प्रभावित काभ्रेका तीन पालिकालाई काठमाडौँ महानगरको २०-२० लाख सहयोग

१८ असोज, काठमाडौं । काठमाडौँ महानगरपालिकाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई बाढीजन्य विपदबाट पुगेको क्षति पुनःस्थापना तथा संकट व्यवस्थापन गर्न राहतका लागि २०-२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

महानगरका प्रमुख बालेन शाहको अध्यक्षतामा आज बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले पालिकाहरुको कोषमा सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो । यसरी सहयोग प्रदान गरिने पालिकाहरुमा पनौती नगरपालिका, रोशी गाउँपालिका र वेथानचोक गाउँपालिका छन् । 

पालिकाहरुबाट सहयोगको माग भएपछि विपद व्यवस्थापन समितिमा छलफल गरेर सहयोगका शिफारिस गरेर महानगर विपद व्यवस्थापन समितिमा पठाइएको, समितिका संयोजक प्रेम थापाले जानकारी दिए । 

आन्तरिक क्षति व्यवस्थापन गर्दै संकटमा परेका पालिकाहरुलाई महानगरपालिकाले सहयोग उपलब्ध गराएको हो । आन्तरिकतर्फ आफ्नो भौगोलिक क्षेत्रभित्र भएको क्षतिको विवरण पठाउन वडाहरुलाई पत्राचार गरिएको छ । वाह्यतर्फ सहयोगका माग भएका स्थानीय तहहरुलाई ‘विपद व्यवस्थापन कोष’ बाट सहयोग उपलब्ध गराएको हो । अनधिकृत बसोबासलाई भौतिक सहयोग गरेर असुरक्षित आवासलाई बढावा नदिने महानगरपालिकाको नीति छ ।  

सहयोग उपलब्ध गराइएका पालिका क्षेत्रमा असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल बर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी र पहिरोले व्यक्तिका बस्ने घर पूर्ण र आंशिक रुपमा क्षति गरेको छ ।