|  

सहकारी पीडित संघर्ष समिति र रविका समर्थकबीच झडप, चार घाइते

१९ असोज, काठमाडौं ।  सहकारी पीडित संघर्ष समिति र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने समर्थकबीच झडप  भएको छ ।

नारायणगढको नारायणी कला मन्दिरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको भेलामा लामिछानेसँग कुरा राख्न गएका चितवनका सहकारी पीडित र लामिछानेका समर्थकबीच झडप भएको हो।

लायन्स चोकबाट सुरु भएको सहकारी पीडितको प्रदर्शन नारायणकला मन्दिरअगाडि पुगेपछि मन्दिरभित्र रहेका रविका समर्थकले प्रदर्शनकारीमाथि ढुङ्गा र पानीका बोतल प्रहार गरेका थिए।

ढुङ्गा र पानीका बोतल प्रहार बाट चारजना प्रदर्शनकारी घाइते समेत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइतेमध्ये एकजना स्थानीय अस्पतालमा उपचाररत रहेको र तीनजना घाइतेलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

कार्यक्रम स्थलमा सुरक्षाका लागि खटिएको प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ। अहिले भने स्थिति शान्त छ।