|  

सरकार बाढी पहिरो पीडितप्रति संवेदनशील भएर काम गर्दैछः सञ्चारमन्त्री गुरुङ

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढी पहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको बताएका छन् ।

फास्ट फुड एशोसिएसन नेपालले आज आयोजना गरेको ‘कर प्रशिक्षण’ कार्यक्रममा उनले चाडपर्व प्रारम्भ हुन लागेका बेला बाढीपहिरोबाट देश र जनताले भोग्नुपरेको अकल्पनीय परिस्थितिप्रति सरकार संवेदनशील रहेको तथा पीडितलाई राज्यका निकायबाट सक्दो सहयोग गर्नुपर्छ भन्नेमा कसैको विमति नरहेको बताए । मन्त्री गुरुङले भने, ‘देशका विभिन्न ठाउँमा एकैपटक बाढीपहिरोबाट मानवीय क्षति भयो, सडक सञ्जाल विच्छेद भयो, कैयौँ नागरिक घरबारविहीन छन । यस्तो अवस्थामा सरकारले सम्बन्धित निकायलाई परिचालन गरेर सहायता परिचालन गरिरहेको छ ।’ 

उनले दशैँ तिहारमा यातायात सेवा सहज ढंगले सञ्चालन गर्न सरकार कटिबद्ध रहेको तथा सडक विभागसँगको समन्वयमा अवरोध भएका ठाउँमा युद्धस्तरमा काम भइरहेको बताए । जनताले महसुस गर्नेगरी परिणाम निकाल्न सरकार क्रियाशील रहेको उनको कथन थियो । त्यस अवसरमा एशियाली खेलकुदमा पदक विजेता एरिका गुरुङ, सेफ गोविन्दनरसिंह केसीलगायत उच्च शिक्षा हासिल गरेका ‘फास्ट फुड’ व्यवसायीका सन्तति, लायन्स क्लबलगायत सामाजिक संघसंस्थालाई सम्मान गरिएको थियो ।