|  

विपद्को जोखिमसँग सामना गर्नसक्ने क्षमता स्थापना गर्नुपर्नेमा गगनकाे जाेड

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न विपद्को जोखिमसँग सामना गर्नसक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिद्वारा आज आयोजित कार्यक्रममा उनले  विपत्तिसँग जुध्ने संस्थागत क्षमता विकास गर्न तीनै तहका सरकारको ध्यान जानुपर्नेमा जोड दिएका हुन् । पटक पटकको विनाशकारी भूकम्प, हालैको बाढीपहिरो र डुबान जस्ता विपद्ले पाठ सिकाएको भन्दै उनले प्रकृतिसँग जुधेर होइन मिलेर प्रकृतिको विनाश नगरी विकास गर्नुपर्ने बताए । उनले सबैले आलोपालो सरकारमा बस्दै आएकाले दोष दिनेभन्दा निकास निकाल्नेबारे अगाडि बढ्नु पर्ने औँल्याए ।

कांग्रेस जिल्ला अध्यक्ष दुर्लभ थापाले विपद्मा सबैले जुटेर काम गर्न र जनताको सेवामा कांग्रेस अगाडि बढ्न आग्रह गरे । कांग्रेस मध्यपुर नगर अध्यक्ष सभापति हरिदास प्रजापतिलगायतले मध्यपुर युवा रक्तदाता स्वयंसेवी मध्यपुरथिमिले ‘म सेवा गर्छु’ भन्ने नाराका साथ बिरामीका लागि तत्काल आवश्यक पर्ने रगत उपलब्ध गराउने २ सय २० भन्दा बढी सदस्य रहेको बताए । रगत चाहिए रक्तदाता समाजलाई सम्झन पनि उनले आह्वान गरे ।