|  

भकुण्डे-तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी गन्तव्यतर्फ जाँदै

२० असोज, काठमाडौं । बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे-कानपुर-कोटतेमाल-पोखरी नारायणस्थान-मेच्छेपौवा सडक आजदेखि खुलेको छ ।

बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका छन् ।यात्रुवाहक बसलाई पनि आजैदेखि सञ्चालनको अनुमति दिइएको तेमाल गाउँपालिकाले जनाएको छ  । तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ-सिन्दुरेटार-मुक्पाटार हुँदै सुनकोशी पुल भएर रामेछापको सुनापति गाउँपालिकाको मध्यपहाडी लोकमार्ग जोड्ने सडक पनि सञ्चालन भएको हो ।

उक्त सडकमा हाललाई हलुका सवारीसाधन मात्र सञ्चालनको अनुमति स्थानीय प्रशासनले दिएको छ । बिपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्‍याउने प्रयास भइरहेको छ ।  

राजमार्गको रोशी गाउँपालिका–११ डम्फुपार्क तथा वडा नं ९ मङ्गलटारमा अलपत्र पाँच सयभन्दा बढी सवारीसाधनलाई आजदेखि वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाइने छ ।