|  

धर्मशालाको व्यवस्थापन गर्ने अधिकार पशुपति विकास कोषलाई नै निहित 

२० असोज, काठमाडौं । पशुपति धर्मशालाको व्यवस्थापन अब पशुपति क्षेत्र विकास कोषले नै गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक परिषद्को आज बसेको बैठकले आवश्यकताअनुसार अन्य सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्थापन गर्न निर्देशन दिने निर्णय गरेको हो । परिषद्का सदस्य काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह समेतको उपस्थिति रहेको सो बैठकमा धर्मशालाको व्यवस्थापन गर्ने अधिकार कोषलाई नै निहित भएको भन्दै आवश्यकताअनुसार अन्य निकायसँग पनि समन्वय गर्न सक्नेगरी बाटो खुला गरिदिएको छ ।

मारवाडी सेवा समितिले यसअघिको करार बदर गरी पाउँ भनी काठमाडौँ जिल्ला अदालतमा पशुपति विकास कोष विरुद्ध दायर मुद्दामा असोज १६ गतेको फैसलामा समितिको दाबी नपुग्ने ठहर गरेपछि परिषद्ले सो निर्णय गरेको हो । लामो समयदेखि सस्तो भाडामा लिएर एकलौटी रूपमा सञ्चालन गर्दै आएको आरोप मारवाडी सेवा समितिलाई लागेको थियो ।