|  

एक सातामा ३ लाख ८० हजार भन्दा बढीले छाडे उपत्यका

२० असोज, काठमाडौं । दशैँका लागि असोज १४ देखि आजसम्म ३ लाख ८० हजार मानिसले उपत्यका छाडेका छन् ।

पछिल्लो एक हप्तामा ३ लाख ८० हजार १ सय ६४ जना मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिएका हुन । असोज १९ गते साँझ ६ बजेबाट आज बिहान ६ बजेसम्म जम्मा १६ हजार ४ सय ६५ जना बाहिरिएका छन् । सो अवधिमा ७ हजार १८ जना उपत्यकामा भित्रिएका छन् । असोज १४ पछि २ लाख ६० हजार ६२९ जना उपत्यका भित्रिएका छन । उपत्यका भित्रिन चाहने करिब ५ सय सवारी साधनमा काभ्रेपलाञ्चोकको रोशीखोलामा रोकिएका छन् ।

काठमाडौँ उपत्यका बाहिरिने मुख्य नाका नागढुंगामा सवारी आउने र जाने चाप बढेको छ । भक्तपुरको जगातेबाट दोलालघाट र काभ्रेको भकुन्डेतर्फ जाने सवारी मात्रै छुटेका छन । वीपी राजमार्ग अवरुद्ध भएको हुनाले जगातेबाट थोरै सङ्ख्यामा सवारी बाहिरिने गरेको छ । चित्लाङ र रामकोट तर्फबाट साना सवारी साधन बाहिरिएका छन् । दक्षिणकालीस्थित फर्पिङको सडक अवरुद्ध हुँदा त्यसतर्फ सवारी आवागमन रोकिएको छ । टोखाबाट नुवाकोटतर्फ जाने नाका निर्बाध रुपमा चलिरहेको छ ।

असोज ११ र १२ मा आएको अविरल वर्षापछि सडक अवरुद्ध हुँदा दसैँ मनाउन पुख्र्यौली थातथलोमा फर्किन खोज्नेहरू उपत्यकामै रोकिन बाध्य भएका छन् ।