|  

विकसित देशकाे भन्दा अविकसित देशका सुत्केरी महिलामा दोब्बरले मानसिक समस्या

२० असोज, काठमाडौं । नेपालजस्ता न्युन आय भएका देशहरूमा २० प्रतिशत महिलामा गर्भवती, सुत्केरी अवस्थामा मानसिक समस्या हुने अध्ययनले देखाएको छ ।

सुत्केरीपश्चात एक वर्षभित्र ज्यान गुमाउने महिलामध्ये २० प्रतिशतको मृत्यु आत्महत्याबाट हुने गरेको पनि तथ्याङकले देखाएको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा.श्रीप्रसाद अधिकारीका अनुसार नेपालमा प्रजनन उमेरका महिलाको मृत्युको मुख्य कारणमध्ये आत्महत्या रहेको अध्ययनमा देखिएको छ । गर्भवती, सुत्केरी अवस्थामा हुने मानसिक स्वास्थ्य समस्याले महिलाको मात्र नभएर बच्चाको शारीरिक, मानसिक र भावनात्मक वृद्धि विकास र गुणस्तरीय जीवनयापनमा नकारात्मक असर गर्ने डा. अधिकारीको भनाई छ ।

त्यस्तै पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी हुने अध्ययनले देखाएको छ । महिलामा विभिन्न मनोसामाजिक कारणले मानसिक स्वास्थ्य समस्याको जोखिम पुरुषको तुलनामा बढी रहेको अध्ययनले देखाएको अस्पतालका निर्देशक डा. अधिकारीले बताए । विकसित देशहरूमा करिब १० प्रतिशत सुत्केरी महिलामा मानसिक समस्या देखिने गरेको छ ।