|  

सहकारी ठगीमा रवि निर्दोष रहेको प्रचण्डको दाबी

२० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने निर्दोष रहेको दाबी गरेका छन् ।

आज रविको निर्वाचन क्षेत्र चितवन पुगेर पत्रकार सम्मेलनमा प्रचण्डले सहकारी छानबिन प्रतिवेदनले लामिछानेलाई दोषी नदेखाएको बताए । लामिछाने जोडिएको गोरखा मिडिया नेटवर्कसम्बन्धी केही विषयमा भने सरकारले अनुसन्धान गर्न सक्ने उनको भनाइ थियो । प्रचण्डले आफूले भनेर लामिछानेलाई पक्राउ गर्ने वा नगर्ने भन्ने नहुने जिकीर गरे । लामिछानेलाई क्लिन चिट दिन अदालत तयार नभएको कुरा आफूले सुनेको उनको भनाइ थियो ।

यस्तै, प्रचण्डले सहकारी छानबिनको समिति गठनको विपक्षमा रहेका केपी ओली अहिले प्रधानमन्त्री भएकाले सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाही गर्न कसैले नरोकेको धारणा राखे । उनले सरकारको तयारी राम्रो नभएकाले प्राकृतिक प्रकोपबाट धेरै धनजनको क्षति भएको आरोप लगाए । आफूहरू बाढी पहिरो पीडितको समस्या बुझ्न जाँदा सरकार नभएको अनुभूति जनताले गरेको उनको भनाइ थियो ।