२१ असोज, काठमाडौं । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा महिलाहरूको निःशुल्क क्यान्सर परीक्षण सुरु गरिएको छ ।
आजदेखि तीन दिनसम्म सञ्चालित क्यान्सर परीक्षण अभियानमा महिलालाई निःशुल्क सेवा दिन लागिएको हो । अक्टोबर क्यान्सर सचेतना महिना भएकाले सोही अवसर पारेर ३५ वर्ष माथिका महिलाको निःशुल्क परीक्षण सुरु गरिएको अस्पताले जनाएको छ । महिला पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य सेवामा कार्यरत महिला कर्मचारीलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरिएको बताइएको छ ।
‘एचबि ब्लड सुगर’, ‘क्रिएटिनिन’ र ‘एसजिपिटी’ परीक्षण निःशुल्क गरिएको हो । साथै पाठेघरको मुखको ‘भिआइए’ परीक्षण गरिनेछ । स्तन क्यान्सरको परीक्षण भने आवश्यकता अनुसार स्तनको भिडियो एक्सरे निःशुल्क गरिने छ । लक्षित समूहअन्तर्गत भरतपुर महानगरपालिकाका स्वास्थ्य स्वयंसेविका, महानगरको मातहतका सम्पूर्ण स्वास्थ्य शाखाका महिला कर्मचारी र महिला पत्रकारहरूको आज परीक्षण गरिँदै छ ।
यसैगरी मङ्गलबार रत्ननगर नगरपालिका र देवघाट गाउँपालिकाका स्वास्थ्य स्वयंसेविका र मातहतका सम्पूर्ण स्वास्थ्य शाखाका महिला कर्मचारीहरूको परीक्षण गरिने छ । बुधबार देवचुली र गैँडाकोट नगरपालिकाका स्वास्थ्य स्वयंसेविका र मातहतका स्वास्थ्य शाखाका महिला कर्मचारीको निःशुल्क परीक्षण गरिने अस्पतालले जनाएको छ । सबै परीक्षणहरू सिएमसी क्यान्सर इन्स्टिच्युटमार्फत गरिने छ ।