२३ असोज, काठमाडौं । नेपालीहरुको महान चाड वडादशैँको चहलपहल देशभर बढेको छ ।
गाउँबाट बाहिर रहेका परिवारका सदस्य घर फर्कन थालेसँगै चहलपहल बढ्नुका साथै बजारमा किनमेल गर्नेको पनि भीड लाग्न थालेको छ । काठमाडौँ उपत्यकाबाट दसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।
यसैगरी शक्तिपीठहरूमा दर्शनार्थीको घुइँचो देखिन थालेको छ । उपत्यकाका चामुण्डा, गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भाटभटेनी, शोभाभगती, इन्द्रायणी, कालिकास्थान, बगलामुखी, भद्रकाली र दक्षिणकालीमा बिहानैदेखि श्रद्धालुको लाम लागेको छ । यसैगरी दसैँका लागि कुखुरा, राँगा, बोका, खसी, च्यांग्रा, हाँसको खरिदबिक्री पनि ह्वात्तै बढेको छ । यसैगरी ठाउँठाउँमा पिङ हालेर मानिसहरू रमाउन थालेका छन् ।