२४ असोज, काठमाडौं । यो वर्षको दसैँमा मकवानपुरमा एउटै स्थानीय तहबाट झन्डै १ करोड रुपियाँ बराबरको खसीबोका बिक्रीका लागि काठमाडौँ ल्याइएको छ ।
पूर्वी मकवानपुरको बागमती गाउँपालिकाका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत ९८ लाख रुपियाँभन्दा बढीको खसीबोका बिक्री गरेर किसानको हातमा पैसा पुगेको हो । अनौपचारिक रूपमा समेत गरी बागमती गाउँपालिकाबाट १ करोड रुपियाँभन्दा बढीको खसीबोका बिक्री गरी किसानले दसैँमा आम्दानी लिएको आँकलन गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँलाई लक्षित गरी मकवानपुरको बागमती गाउँपालिका-८ बाट खसीबोका खरिद गरी काठमाडौँ ल्याएको छ ।
व्यापार कम्पनीले र बागमती गाउँपालिकाबिच दसैँमा पालिकाभित्र खसीबोका खरिद गर्ने गरी सम्झौता भए अनुसार यो वर्ष व्यापार कम्पनीले बागमती गाउँपालिकामा खरिद गरेको कम्पनीका वीरगन्ज शाखाका वरिष्ठ सहायक धर्मदेवप्रसाद यादवले जानकारी दिए । कम्पनीको वीरगन्ज शाखाले किसानबाट ७३ वटा साना, ३८९ वटा ठुला खसी र २६ वटा बोका खरिद गरेको थियो । यादवका अनुसार जिउँदो खसी २५ केजीभन्दा माथि तौलको प्रतिकेजी ६०५ रुपियाँ, २० देखि २५ केजी तौलसम्मको प्रतिकेजी ५८५ रुपियाँ र १८ केजी तौलभन्दा माथिको बोका प्रतिकेजी ५७० रुपियाँ दरमा किसानसँग खरिद गरिएको थियो । कम्पनीले किसानसँग खरिद गरेको जिउँदो खसीबोका उपभोक्तालाई प्रतिकेजी ६६० रुपियाँमा बिक्री गर्दै आएको जनाइएको छ ।