२५ असोज, काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कात्तिकसम्म निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
दशैं अघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएको भएपनि दिन नसकिएको बताए। उनले भने, ‘मैले दसैँ अगाडि भुक्तानी दिनुपर्छ भनेको थिएँ । हाम्रो मन्त्रालयले ८ अर्ब ६६ करोड भुक्तानी दिन बाँकी छ । हामीले रु पाँच अर्ब ५० करोड भुक्तानी दिइसकेका छौँ । तीन अर्ब ५० करोड जति भुक्तानी दिन बाँकी छ । भुक्तानीका लागि अर्थ मन्त्रालयसँग कुरा गरेका छौँ ।’
मन्त्री दाहालले बक्यौता भुक्तानी सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्दा तीन महिना अगाडि रकमान्तर गर्न नपाइने भएकाले कात्तिक लाग्नैपर्ने हुँदा ढिलाइ भएको बताए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारबाट अझै ४५ अर्ब भुक्तानी हुन बाँकी रहेकाले समयमा भुक्तानी हुन नसक्दा निर्माण उद्योग समस्यामा परेको बताए ।