|  

गौतमबुद्ध विमानस्थलबाट तीन कम्पनीले उडान गर्दै

२८ असोज, काठमाडौं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् ।

निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुवईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्याण्ड मुख्यालय रहेको थाइ एयर एशियाले गौतमबुद्ध विमानस्थलमा उडान गर्न लागेका हुन्। यी तीन वटै एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकका छन् ।

सोहीअनुरुप उडान तालिका बनाएको विमानस्थलले जनाएको छ । फ्लाई दुवईले आगामी कात्तिक २४ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नेछ । कम्पनीको यो विमानस्थलमा पहिलो उडान हो । हप्ताको सातै दिन फलाई दुबईले दुबई–भैरहवा र भैरहवा-काठमाडौँ-दुबई उडान गर्न लागेको हो । महाप्रबन्धक तिवारिका अनुसार फलाई दुबईको विमान दुबईबाट दिउँसो १ः४५ बजे भैरहवा आएर ३ः३० मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई जाने उडान तालिका प्राधिकरणबाट अनुमति पाएको छ ।

यसैबीच फलाइ दुबईको प्राविधिक टोलीले गौतमबुद्ध विमानस्थलको भ्रमण गरी सेवा सुविधाबारे जानकारी लिएकाले तयारीको कार्य अगाडि बढाउने महाप्रबन्धक तिवारीले बताए ।