|  

रामेछापमा यात्रुका लागि निःशुल्क खाजासहितको विश्रामस्थल

२८ असोज, काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा यात्रुका लागि निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ ।

सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाँउपालिका-६ माकादुमले यो अभ्यासको शुरूआत गरेका हुन । असोज ११ र १२ गतेको अविरलपछि सिन्धुलीको खुर्कोट र खैरेनीघाटको पुल बगाउँदा सिन्धुपाल्चोकको मुडे र दोलखाको चरिकोट हुँदै लामोदुरीका सवारीसाधन सञ्चालन भइरहेका छन् । त्यसैकारण सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरी सेवा सञ्चालन गरिएको वडा नं ६ का अध्यक्ष नारायण कार्कीले जानकारी दिएका छन् । उनले यसअघि चालकले गाडी रोक्न नमाने पनि निःशुल्क पानी र खाजाको व्यवस्थापछि भने चालकले यातायातका साधन रोक्ने गरेको बताए । उनका अनुसार यो अभियान प्रभावकारी भएको छ ।

यो अभियान दशैं मनाउन घर जान हिँडेका यात्रीलाई लक्षित गरी यही असोज २४ र २५ गते सञ्चालन गरिएको थियो । पुनः दशैं मनाएर फर्किनेहरूका लागि अभियान सञ्चालन गर्ने योजना छ । उक्त स्थानमा खाजाका लागि बिस्कुट, चाउचाउलगायत खानेकुरा र पानी तथा चिसो पेयपदार्थ निःशुल्क रूपमा वितरणको व्यवस्था छ । यो अभियान सञ्चालन गरिएपछि यात्री मात्र नभई चालक तथा सहचालकसमेत खुसी भएको स्थानीयहरुको भनाई छ ।