|  

चुलियो भारत क्यानाडाको तनाव, ६–६ कूटनीतिज्ञ निष्काशित

२९ असोज, काठमाडौं । भारत र क्यानडाले एक अर्काका कुटनीतिज्ञ निस्कासन गरेका छन् ।

एक वर्षअघि क्यानडामा खलिस्तानी पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्या भएपछि भारत र क्यानडाबीच तिक्तता सुरू भएको थियो।क्यानडाले निज्जरको हत्यामा भारतीयको संलग्नता रहेको प्रमाणहरू भेटिएपनि भारतले अनुसन्धानमा नसघाएको आरोप लगाएको छ। यद्यपि भारतले भने क्यानडाको उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

त्यसयता दुवै देशको सम्बन्ध चिसिँदै आएकोमा सोमबार भारतले क्यानडाका उच्च आयुक्तसहित ६ जना कुटनीतिज्ञलाई निस्कासन गरेको हो । निस्कासित कुटनीतिज्ञहरूमा उच्चआयुक्त स्टिवार्ट रोस ह्वीलर, उप उच्च आयुक्त प्याट्रिक हबर्ट, प्रथम सचिवहरू म्यारी क्याथरिन जली, आयन रोस डेविड ट्रिटेस, एडम जेम्स र पाउला ओर्जुयला छन् ।

उनीहरुलाई शनिबार मध्यराति १२ बजेअघि नै भारत छाड्न निर्देशन दिइएको छ । क्यानडाले पनि भारतका उच्च आयुक्तसहितका कूटनीतिज्ञहरुलाई निस्कासन गरेको बताएको छ । बिबिसीका अनुसार निज्जर हत्या प्रकरण र त्यसमा भारतीय एजेन्टहरुको संलग्नता भेटिएको भन्दै क्यानडाले अहिलेसम्म ४१ जना भारतीय कुटनीतिज्ञहरूलाई निस्कासित गरिसेकको छ।