|  

दाङमा आफ्नै पेटमा चक्कु प्रहार गरेका युवकको मृत्यु

२९ असोज, काठमाडौं । दाङमा आँफै पेटमा चक्कु प्रहार गरेका एक युवकको मृत्यु भएको छ।

भक्तपुरको नगरकोट नगरपालिका– १४ का २८ वर्षीय अनिल तामाङको उपचारका क्रममा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । तामाङले मंगलबार बिहान साढे ९ बजे आफ्नै पेटमा छुरा प्रहार गरेपछि उपचारका लागि तुलसीपुर ल्याइएकोमा पौने ११ बजेतिर उनको मृत्यु भएको  इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

अनिल असोज २३ गते मात्रै दाङको बबई गाउँपालिका– ४ हापुरे आएका थिए । अनिलले बिहानै मदिरा सेवन गरी बुवा सोमार तामाङसंग झगडा गरेपछि आफ्नै पेटमा छुरा हानेका थिए । प्रहरीका अनुसार अनिलले सम्पत्तिको बिषयमा बुवा सोमारसँग यसअघि पनि पटकपटक विवाद भएको थियो ।

बिहान सोही विषयमा बाबु छोराबीच सामान्य विवाद भएपछि अनिल आफैले आफ्नो पेटमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले छोराको उपचारका लागि आएका बुवा सोमारलाई तुलसीपुरबाट र अनिलका ३१ वर्षीय दाजु पूर्णलाई हापुरेस्थित होटेलबाट नियन्त्रणमा लिएको छ । उनीहरूसँग घटनाबारे सोधपुछ भइरहेको छ।