२९ असोज, काठमाडौं । कालीकोटको महावै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ ।
चालु आर्थिक वर्षबाट गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको हो । चालु आवको तीन महिनाको सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई दिइसकेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले ४९ देखि ५९ वर्ष उमेर समूहका एकल पुरुषलाई मासिक एक हजारका दरले सामाजिक सुरक्षा भत्ता दिन थालेको हो ।
गाउँपालिकाले ४९ वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका, ४९ वर्ष पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ५९ वर्ष सम्मका पुरुषलाई मासिक भत्ता दिने गाउँपालिकाले जनाएको छ ।