|  

तमिलनाडुबाट सिंगापुर जाँदै गरेको एयर इन्डियाको विमानलाई दुईवटा लडाकु विमानले घेरेपछि....

३० असोज, काठमाडौं ।  भारतको तमिलनाडुस्थित मदुरैबाट सिंगापुर जाँदै गरेको एयर इन्डिया एक्सप्रेसको विमानलाई मंगलबार अचानक दुईवटा लडाकु विमानले घेरेपछि यात्रुहरू आत्तिएका थिए ।

मंगलबार सोसल मिडिया प्लेटफर्म एक्सको पोस्टमार्फत एयर इन्डियाका सात विमानहरूमा बमको धम्कीसहितको सन्देश प्राप्त भएको थियो । यसपछि सुरक्षा निकायले विभिन्न विमानस्थलमा तत्कालै आतङ्कवाद विरोधी अभ्यास गर्नुपरेको थियो । एयर इन्डिया एक्सप्रेसको उडान (उडान नम्बर आईएक्स६८४) मदुरैबाट सिङ्गापुर जाँदै थियो ।

अन्य विमानहरूसँगै यसमा पनि बमको धम्की आएको थियो । धम्की पाएपछि सिंगापुर वायुसेनाले यस विमानको सुरक्षाका लागि आफ्ना दुईवटा एफ–१५एसजी लडाकु विमानहरू पठायो । सिङ्गापुरको लडाकु विमानले एयर इन्डियाको उडानलाई सघन जनसङ्ख्या भएको क्षेत्रबाट टाढा लगेको थियो ।

त्यसपछि निर्धारित समयभन्दा एक घण्टा पछि १० बजेर ४ मिनेटमा विमान चाङ्गी विमानस्थलमा अवतरण भएको थियो । अवतरण पछि विमानको जाँच गरियो । तर धम्की अफवाह साबित भयो। एक दिन अघि मात्र सामाजिक सञ्जालमार्फत मुम्बईबाट प्रस्थान गर्ने तीन अन्तर्राष्ट्रिय उडानहरूमा बमको धम्की दिइएको थियो । त्यसपछि मंगलबार ७ वटा विमानमा बमको धम्की आएको थियो ।