|  

उपत्यकासँगै देशभर चिसो बढ्यो

 २ कात्तिक, काठमाडौं । देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको  छ ।

देशबाट मनसुन बाहिरिएपछि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौँ उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ। विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भागमा मौसम सफा रहेको छ ।

विभागले जारी गरेको मौसम बुलेटिनअनुसार शुक्रबार दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक/ दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक / दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।