|  

इजरायली आक्रमणमा हमासका सबैभन्दा ठूला नेता मारिए

२ कात्तिक, काठमाडौं । गाजामा भएको आक्रमणमा हमासका शीर्ष नेता याह्या सिनवार मारिएको इजरायलले पुष्टि गरेको छ ।

इजरायली विदेशमन्त्री इजरायल काट्जले ​गाजामा इजरायली सेनाले गरेको कारबाहीमा उनी मारिएको गएराति पुष्टि गरेको बीबीसीले जनाएको छ । यसैगरी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि सिनवार मारिएको पुष्टि गरेका छन् । सिनवार गत अक्टोबर ७ मा भएको आक्रमणको मास्टरमाइन्ड हुन् । इजरायली रक्षा बलले अक्टोबर १६ मा मध्य गाजाको एक भवनमा आक्रमण गरेको थियो ।

जसमा हमासका ३ जना सदस्य मारिएको खबर आएको थियो । पछि थाहा भयो कि ती मध्ये एक याह्या सिनवार थिए।सिनवारको मृत्युबारे हमासको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन ।​ सिनवार गाजामा हमासको राजनीतिक शाखाका नेता हुन् र इजरायलका मोस्ट वान्टेड व्यक्तिहरूमध्ये एक हुन् । जुलाई ३१ मा इरानमा हानियाको मृत्युपछि सिनवार संगठनको नयाँ प्रमुख बनेका थिए ।