|  

बीपी राजमार्ग पुनर्निर्माणका लागि अध्ययन गर्नै २ महिना लाग्ने

२ कात्तिक, काठमाडौं । बीपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा आए पनि स्थायी रूपमा सञ्चालनमा ल्याउनेबारे अन्योल देखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार  स्थायी रूपमा निर्माण गर्न कति समय लाग्ने टुङ्गो लागेको छैन । यो राजमार्ग पुरानै संरचनाको ढाँचामा निर्माण गर्दा फेरि समस्या आउने भएकाले नयाँ तरीकाले निर्माण गरिनु पर्ने देखिएको छ । जसका लागि गहन रूपमा अध्ययन गरी पुनः निर्माण गर्नुपर्ने हुँदा के कति समय लाग्ने विषयमा टुङ्गो नभएको हो ।

यो राजमार्ग स्थायी रूपमा पुनर्निर्माण गर्न भौगर्भिक र हाइड्रोलोजिक अध्ययन गर्नुपर्छ । यस किसिमको अध्ययन गर्न डेढदेखि दुई महिना लाग्ने देखिएको छ ।

गत असोज ११  र १२ गते परेको अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको मम्ती खोला, कालढुंगा, बोक्सीकुना, नार्केपुल आसपास, पिनथली बेसी, डालाबेसी, भ्याकुरे खोला, चार सय बेसी, मंगलटारलगायत खण्डमा सडक बगेको छ । यी खण्डमा कालोपत्रे सडकको नामानिसानसम्म छैन ।