|  

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी नदी पुलमा बेलिव्रिज जोडियो

२ कात्तिक, काठमाडौं ।  गत असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले बगाएको सुनकोसी नदीमा बेलिव्रिज जोडिएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका-६ भलुवाजोर सेलेघाट जोड्ने सुनकोशी नदीको पुलमा अस्थायी एमपिबी बेलिव्रिज जोडिएको हो । बाढीले पक्की मोटरेवलपुल बगाएको २० दिनमा नेपाली सेनाले सुनकोशी नदीमा एमपिबी (मोडुलर प्यानल ब्रिज)राखेर सिन्धुली र रामेछाप जिल्लालाई जोड्न सफल भएको हो ।

सरकारले सुनकोशी नदीमा आएको बाढी र पहिरोका कारण क्षतिग्रस्त सुनकोशी नदीको पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । नेपाली सेनाको चौध बाहिनी अड्डा गौचर काठमाडौंको प्राविधिक टोलीले बुधबार बेलुका अबेरसम्ममा एमपिबी राखेर सिन्धुली र रामेछाप जिल्ला जोड्ने सुनकोशी नदीमा बेलिव्रिज जाडन गरेको हो ।

तीन सय ६० फिट लम्बाईको खुर्कोटको पुलमा बाढीले एक सय ८० फिट क्षति गरेको थियो।  पुलको आधार भाग बगाएपछि २१ दिनदेखि सिन्धुली रामेछाप यातायात अवरुद्ध भएको छ।