|  

पहिलो टी-२० मा नेपालले अमेरिकालाई १७ रन हरायो

२ कात्तिक, काठमाडौं । नेपालले टि-२० सिरिजमा अमेरिकामाथि शानदार जित निकालेको छ ।

शुक्रबार बिहान अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १६५ रनको लक्ष्य पूरा गर्न नसक्दा अमेरिका नेपालसँग पराजित भएको हो ।

सुरुमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले ३३ बलमा चार चौका र एक छक्काको मद्दतमा सर्वाधिक ४९ रन बनाए ।अमेरिकाविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले १७ बलको सामना गर्दै दुई चौका र एक छक्काको मद्दतमा २८ रन जोडे ।

ओपनर अनिल शाह र आशिफ शेखले समान २७–२७ रन बनाए। शाहले १८ बलमा २ चौका र १ छक्का प्रहार गर्दा शेखले २७ बलमा चार चौका हिर्काए।कुशल भुर्तेल १३ बल खेल्दै १० रनमा आउट भए भने आक्रामक ब्याटिङ सुरु गरेका गुल्सन झा सात बलमा १ छक्का र एक चौका प्रहार गर्दै ११ रन बनाएर आउट भए ।

त्यसपछिका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् । करण केसी र आरिफ शेख शून्यमा आउट हुँदा सोमपाल कामीले मात्र दुई रन जोड्न सकेका थिए ।अमेरिकाका लागि सौरभ नेत्रावलकर, जसदीप सिंहर हरमित सिंहले समान दुईदुई विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको अमेरिकालाई सस्तैमा समेट्न नेपालका लागि दीपेन्द्रसिंह ऐरीले तीन विकेट हात पारे । गुल्सन झा, करण केसी र रिजन ढकालले समान एकएक विकेट हात पारे ।

दोस्रो खेल आइतबार बिहान र तेस्रो तथा अन्तिम टि-२० आई सोमबार बिहान हुनेछ। यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–टू का खेल हुनेछन्।