|  

बालिकालाई जबरजस्ती यौन व्यवसायमा लगाउने गेष्टहाउस सञ्चालक पक्राउ

०२ कात्तिक, काठमाडौं । बालिकालाई यौन व्यवसायमा लगाउने गेष्टहाउस सञ्चालक पक्राउ परेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले एक जनालाई आज टोखा नगरपालिका-९ बाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका-६ का २९ वर्षीय सुजन तामाङ रहेका छन । उनले काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कमा निमा गेष्ट हाउस सञ्चालन गर्छन । उनले एक जना बालिकालाई सरसफाइको काममा लगाइदिने भन्दै जबरजस्ती यौन व्यवसायमा लगाएको खुलेको हो । ग्राहकसँग एक-दुई घण्टाको दुई देखि ३ हजारसम्म र रातभरको ६ हजारसम्म लिने गरेको खुलेको हो ।

पीडित बालिकालाई एक महिनासम्म गेष्टहाउस बाहिर समेत निस्किन नदिएर बिरामी भएको समयमा समेत जबरजस्ती शारिरिक सम्पर्क राख्न बाध्य गराएको प्रहरीले जनाएको छ ।  पारिश्रमिक माग गर्दा पनि अभियुक्तले गाली गलौज र कुटपिट समेत गरेको खुलेको छ । बालिकालाई जबरजस्ती यौन व्यवसायमा लगाएको भन्ने जाहेरीपछि प्रहरीले तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका तामाङमाथि पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति समेत लिइसकेको छ ।