|  

‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ दुवै फिल्म ‘सुपरहिट’ 

०२ कात्तिक, काठमाडौं । मुलुकको सबैभन्दा ठूलो सिनेमा मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनरत दुई फिल्म ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’लाई ‘सुुपरहिट’ घोषणा गरेको छ ।

चेन अन्तर्गतका हलमा भएको कमाइको आधारमा यी दुई फिल्मलाई ‘सुपरहिट’ ट्याग दिइएको क्यूएफएक्सको माउ कम्पनी टीम क्वेस्टकी जनरल म्यानेजर तृप्ती गिरीले जानकारी दिइन । उनका अनुसार क्यूएफएक्सका हलमा कुनै फिल्मले पहिलो सप्ताहन्त (विकेन्ड)मा १ करोड ५ लाख रुपैयाँ ग्रस कमाए त्यसलाई ‘ब्लकबस्टर’ र कुनै फिल्मले पहिलो साता सोही बराबरको कमाइ गरे त्यसलाई ‘सुपरहिट’ घोषणा गरिन्छ ।

जसअनुसार, दशैंको फूलपातिमा रिलिज भएको ‘छक्कापञ्जा ५’ले गत सोमबार क्यूएफएक्सको देशभरका हलमा उक्त थ्रेसहोल्ड पार गरेको थियो । उक्त मापदण्ड पुरा गर्न ‘१२ गाउँ’ लाई बुधबारसम्म समय लागेको थियो । क्यूएफएक्सले ‘महाजात्रा’बाट सुपरहिटको ट्याग दिन थालेको हो । त्यसयता महाजात्रा, बोक्सीको घर, स्त्री २, कल्कीले मात्र सुपरहिटको ट्याग पाएका छन् ।