|  

‘पुष्पा २ः द रुल’ ले रिलिजअघि नै कमायो ९०० करोड

२ कात्तिक, काठमाडौं ।  अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ः द रुल’को नयाँ पोस्टर पनि सार्वजनिक भएको छ ।

डिसेम्बर ६ मा हलमा रिलिज हुने तयारीमा रहेको यो फिल्मले रिलिज हुनुअघि नै उत्कृष्ट प्रि–कलेक्शन रेकर्ड बनाएको छ । मिडिया रिपोर्टका अनुसार फिल्मले रिलिजअघि नै ९ सय करोड कमाइसकेको छ । निर्माताले ‘पुष्पा २ःद रुल’को डिजिटल र स्याटेलाइट राइट बेचेर ९ सय करोड कमाई गरिसकेको स्रोतले जनाएको छ ।

फिल्म कुन ओटीटी प्लेटफर्ममा रिलिज हुन्छ भन्ने आधिकारीक घोषणा भने हुन बाँकी छ । ५०० करोडको लागतमा बनेको ‘पुष्पा २ः द रुल’ को थियट्रीकल राइट साढे ६ सय करोडमा बेचिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

सुकुमारले निर्देशन गरेको फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्डन्ना, फहद फासिल, धनन्जय, राव रमेश, सुनील, अनसूया भारद्वाज, अजय घोष लगायतका कलाकारको भूमिका रहेको छ ।

फिल्म ‘पुष्पाः द राइज’को पहिलो भागले निकै सफलता पाएको थियो । फिल्म ६ डिसेम्बर, २०२४ मा तेलुगु, हिन्दी, तमिल, कन्नड, बंगाली र मलयालम भाषाहरूमा रिलिज हुने तयारीमा छ ।