|  

दाङमा सर्प महोत्सव हुँदै, विभिन्न प्रकारका सर्प प्रदर्शन गरिने

२ कात्तिक, काठमाडौं ।  दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस र सर्पबीचको द्वन्द्व न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सव तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा आयोजना हुने छ । महोत्सवमा दाङमा पाइने विभिन्न प्रकारका सर्प प्रदर्शनी र तीबारे जानकारी दिइने छ ।

सर्पले टोक्दा के गर्ने, के नगर्ने तथा जिल्लामा सर्पको टोकाइको उपचारको अवस्था, प्राथमिक उपचारलगायत विषयमा पनि सचेतना प्रदान गरिनेछ ।

त्यस अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिका, दंगीशरण र शान्तिनगर गाउँपालिकाका–२० हजारभन्दा बढीलाई सचेतना प्रदान गर्ने लक्ष्य राखिएको छ ।