|  

विपक्षी दलको बैठकमा गएपछि महन्थलाई देउवाको फोन, प्रचण्डले झुक्याएर बोलाएको महन्थको भनाई 

२ कात्तिक, काठमाडौं ।   सत्तारूढ दलका नेता महन्थ ठाकुर विपक्षी गठबन्धनको बैठकमा सहभागी भएपछि सत्तारूढ दलहरूले चासो देखाएका छन् ।

सरकारमा श्रम तथा रोजगार मन्त्रालय समेत लिएको पार्टीका अध्यक्ष विपक्षी गठबन्धनमा गएपछि सत्तारूढ दलहरूले चासो देखाएका हुन् । ठाकुरसहितको फोटो सार्वजनिक भएपछि सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयबाटै फोन गरेर ठाकुर विपक्षी गठबन्धनमा सहभागी हुनुको कारणबारे जानकारी लिएएका छन् ।

तर, ठाकुर भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी गठबन्धनको बैठक नभनी डाकेपछि झुक्किएर बैठकमा पुगेको खुलेको छ ।  ठाकुरलाई प्रचण्डपुत्री गंगा दाहालले फोन गरेर छलफलका लागि निम्ता गरेकी थिइन् । उनले बैठकका लागि निमन्त्रणा गर्दा केही नेतासँग छलफल गर्न खोज्नुभएको छ, आउनुस् है भनेर निम्ता दिएकी थिइन् । त्यसका आधारमा बैठकमा पुगेका ठाकुर बैठकस्थलमा पुगेपछि भने छक्क परेका थिए ।

‘एउटा पार्टीको नेताले छलफल गरौँभन्दा अस्वीकार गर्ने कुरा भएन । जब म बैठकमा पुगे त्यहाँ प्राकृतिक विपत्ति व्यवस्थापनका आधारमा सरकार असफल भएको भनेर छलफल भयो,उनले भने। ‘मैले प्राकृतिक विपत्तिमा सत्तापक्ष विपक्ष हुँदैन । सबैले साझा प्रयासबाट नागरिकलाई राहत दिन लाग्नुपर्छ भन्ने धारणा राखेको छु ।’ उनले विपक्षीका तर्फबाट हुने निर्णयमा आफूलाई सामेल नगराउन पनि आग्रह गरेका थिए ।