|  

आफ्नो पोजिसन क्लियर गर्न महन्थ ठाकुरलाई उपेन्द्र यादवको आग्रह 

०२ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरलाई ‘पोजिसन क्लियर’ गर्न आग्रह गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज डाकेको प्रतिपक्षी दलको बैठकमा ठाकुर उपस्थित भएपछि यादवले कित्ता क्लियर गर्न आग्रह गरेका हुन । एउटै दल सत्ता र प्रतिपक्ष दुवै पक्ष हुन नपाइने उनले बताए । उनले भनेका छन्,‘ठाकुरजी बैठकमा सहभागी हुनु नै हुँदैन भनेर मैले भनेको होइन । बैठकमा सहभागी हुन पाइन्छ । तर, उहाँको पार्टी सरकारमै सहभागी रहेकाले उहाँ सत्ता पक्ष हो की प्रतिपक्ष भन्ने पोजिसन क्लियर गर्नुपर्छ । सत्ता र प्रतिपक्ष दुवै पक्ष हुन पाइँदैन ।’ 

लोसपाबाट वरिष्ठ नेता शरतसिंह भण्डारी संघीय सरकारमा मन्त्री छन् । भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हुन् । त्यसैगरी लोसपा मधेश प्रदेशमा पनि सरकारमा सहभागी छ ।