|  

महिला स्वास्थ्य स्वयमसेविकाले निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने 

०२ कात्तिक, काठमाडौं । महिला स्वास्थ्य स्वयमसेविकाहरूले निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन । मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा यससम्बन्धी समझदारी भएको छ । विपद् प्रभावित काभ्रेको रोशी क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग मन्त्री पौडेलले सेवाको कदरस्वरूप यातायात निःशुल्क बनाउने कार्यमा लागिरहेको भन्दै केही समयमा नतिजा आउने बताएका थिए । केही समयअघि मन्त्री पौडेलले यातायात व्यवसायी राष्ट्रिय महासंघसँग न्यून सुविधामा आम मातृ शिशु तथा समुदायको स्वास्थ्य सेवाका लागि लामो समयदेखि प्रयत्नरत रहेको भन्दै उनीहरूलाई कामका शिलशिलामा हुने यातायात निःशुल्क गरिदिन आग्रह गरेका थिए । त्यसअनुसार यातायात व्यवसायी राष्ट्रिय महासंघ सहमत भएपछि शुक्रबार मन्त्रालयमा यससम्बन्धी समझदारी भएको हो ।

कार्तिक १५ गतेबाट यस्तो व्यवस्था लागू गर्न मन्त्री पौडेलले गरेको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सहमति जनाए । मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेविकाहरूलाई थप सहयोग गर्नका लागि के गर्न सकिन्छ भनेर आफूहरू चिन्तित रहेको बताए । मन्त्रालयसँग महासंघले गरेको प्रतिबद्धतामा सामाजिक उत्तरदायित्वअन्तर्गत सम्बन्धित तह रहेको जिल्लाभर तोकिएको जिम्मेवारी पूरा गर्न सार्वजनिक यातायातका साधनमा प्राथमिकता दिएर निःशुल्क आवतजावत गर्न दिने उल्लेख छ । यसका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पोशाकमा वा परिचयपत्र बोकेको हुनुपर्ने महासंघले उल्लेख गरेको छ ।