|  

पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री सिंहको निर्देशन

०२ कात्तिक, काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरी काम गर्न सातै प्रदेशका आयोजना प्रमुखलाई निर्देशन दिएका छन् ।

आज सातै प्रदेशका आयोजना प्रमुख, आयोजनाका महानिर्देशक सहित सरोकारवाला व्यक्तित्वहरलाई छलफलमा बोलाउँदै मन्त्री सिंहले यस्तो निर्देशन दिएका हुन । आयोजनाको अन्तिममा समिक्षा गर्दा कार्यान्वयन फितलो भइसकेको हुने भन्दै उनले शुरुमै आयोजना कार्यान्वयनका समस्या पहिचान गर्ने गरि छलफल शुरु गरेका थिए । पूर्वाधार आयोजनाको कामलाई प्रभावकारी बनाउन नीतिगत विषयमै बढी जोड दिनुपर्ने उनले धारणा राखेका थिए । छलफल पश्चात मन्त्री सिंहले भने, ‘तपाईंहरुसँगको छलफलपछि समस्या के हो ? पहिचान भएको छ । मुलतः यो छलफल परिणामका लागि हो । समस्या सुन्ने मात्र होइन समाधानका लागि म उचित पहल समेत गर्छु । तर, काममा ढिलासुस्ती हुनुभएन, फटाफट हुनुपर्यो ।’

छलफलमा स्थानीय पूर्वाधार विकास आयोजना अन्तर्गत सातै प्रदेशका आयोजना प्रमुखहरुले चालू आर्थिक वर्षमा भएका योजनाका उपलब्धीहरु, भोग्नुपरेका समस्या र भइरहेका कामबारे विस्तृतमा प्रस्तुतीकरण दिएका थिए । असोजमा आएको बाढीका कारण भएको क्षती र बाढी पछि भएका कामबारे पनि आयोजना प्रमुखहरुले मन्त्री सिंहलाई जानकारी गराएका थिए ।