|  

राज्यले आफूमाथि दादागिरी गरेकोले डटेर सामना गर्न रविको अपिल !

०२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्यले आफूमाथि दादागिरी गरेकोले डटेर सामना गर्न अपिल गरेका छन् ।

पक्राउ पर्नुअघि लामिछानेले पार्टी कार्यालयमा भेला भएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै राज्यले दादागिरी देखाएकोले डटेर सामना गर्न अपिल गरेका हुन् । उनले भनेका छन्, ‘देशले आशा र भरोसा गरेको थियो त्यसमाथि प्रहार भएको छ। यो प्रहारलाई हामी सामना गर्नेछौं। म कुनै पनि किसिमको न्यायिक जाँच दिनको लागि अदालती प्रक्रियालाई सम्मान गर्न चाहन्छु । तर यो राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न अपिल गर्न चाहन्छु ।’

रास्वपा फुटाउने र आफूलाई चुनाव नै लड्न नदिने गरी प्रतिशोध साँध्न खोजिएको उनको भनाइ छ । उनले भने, ‘मैले कुनै पनि अपराध गरेको छैन, राज्यले सम्पूर्ण स्रोत र शक्ति लगाएर यो कार्य गरेको छ यसलाई नेपाली नागरिकले हेरेका छन । राज्यले गरेको यो दादागिरीलाई डटेर सामना गर्न यहाँहरूलाई साहस मिलोस भन्न चाहन्छु ।’ उनलाई गाडीमा राखेर प्रहरीले पोखरा लैजाँदैछ ।