|  

राजनीतिक प्रतिशोध साँधेर अदालतको समेत प्रयोग गरिएको रास्वपाको आरोप

०३ कात्तिक, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा रहेकाले राजनीतिक प्रतिशोध साँधेर अदालतको समेत प्रयोग गरेको आरोप लगाएका छन् ।

सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि पोखरामा जारी प्रदर्शनको क्रममा बोल्दै रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाले यस्तो टिप्पणी गरेका हुन् । अदालत पनि नांगिएको भन्दै उनले भनेका छन्,‘‘अदालतमा पनि पार्टीका मान्छे छन नत्र ७ जनामा त्यही न्यायाधिश कसरी पर्छ । ७ जनामध्ये आजभन्दा २५ दिनअघि जुन न्यायाधिशले गर्नेवाला थियो हिजो त्यही कसरी पर्छ । ६ जना बिदामा कसरी हुन्छ । सबैले भनेका छन, हामीले मात्रै भनेको होइन । अदालत नांगियो भने हामी न्याय खोज्न कहाँ जाने । उहाँहरुले राजनीतिक प्रतिशोध कुण्ठाको लागि अदालतको पनि प्रयोग गर्दै हुनुहुन्छ ।’

उनले आफूहरु वास्तविक सहकारी पीडितको पक्षमा लडिरहेको जिकिर गर्दै प्रधानमन्त्री केपी ओली र कांग्रेस महामन्त्री गगन थापाले रवि लामिछाने मात्रै देखेको टिप्पणी गरे । उनले थपे, ‘सहकारीमा ८७ अर्ब फसेको छ । हामीले त्यो समस्या समाधान गर्नुपर्छ भनिरहेका छौं । हामी कसैलाई उन्मुक्ति दिन हुँदैन भन्ने पक्षमा छौं। उहाँहरुले सार्वजनिक लेखा समितिको सभापतिको श्रीमती भएकाले उन्मुक्ति, कांग्रेसको उपसभापति भएकाले उन्मुक्ति पाउने रे, हामीले उन्मुक्ति खोजेका छैनौं न्याय खोजेका हौं ।’