|  

यातायातको सुविधा नहुँदा करोडौँको स्याउ बिग्रने अवस्थामा

०३ कात्तिक, काठमाडौं । जनप्रतिनिधि र व्यवसायीले गोरखा स्याउ बजारसम्म ल्याइदिन माग सरकारसँग गरेका छन ।

उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन सरकारसँग माग गरेका हुन । गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेका छन् । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भौगोलिक दृष्टिकोणले विकट रहेको हिमालपारीको गाउँ चुमनुब्रीमा स्याउका ३० हजार बिरुवाको खेती रहेकामा यातायातको सुविधा नहुँदा करोडौँको स्याउ बिग्रने अवस्थामा पुगेको बताए ।

उनले स्याउलाई मनास्लु स्याउ नामकरण गरेको जानकारी पनि दिए । कृषि र पर्यटनलाई जाड्नेगरी छिटो सडकको पहुँच र्पुयाए स्याउ, कोदो, मकैको लोकल रक्सी र वाइन उत्पादनगरी ब्राण्ड बनाउन सकिने उनको धारणा छ । १२ हजार ५ सय स्याउको बोट लगाएका पर्यटन व्यवसायी लाक्पा ढुड्डु लामाले आफूले स्याउको बिरुवा रोप्दा तीन वर्षसम्ममा गाउँमा सडक पुग्ला भन्ने सोचेर खेती सुरु गरे पनि सडक नपुग्दा नोक्सानी बेहोर्नु परेको बताए ।

गोरखाकै धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले आफ्नो पालिकामा आलु, किबी, ड्रागन फ्रुटको प्रशस्त खेती रहे पनि बजार नपाएको गुनासो गरिन ।