|  

रास्वपा सिध्याउने दिवास्वप्न पूरा हुँदैनः उपसभापति अर्याल

०३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले कांग्रेस–एमाले रवि लामिछानेलाई सिध्याउन हात धोएर लागेको आरोप लगाएका छन् ।

सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा भएको विरोधसभामा अर्यालले यस्तो आरोप लगाएका हुन् । रास्वपा सिध्याउने उनीहरुको दिवास्वप्न पूरा नहुने भन्दै उनले भने, ‘रास्वपा त्यति कमजोर छैन, कसैले सपना देख्दैमा सकिँदैन, हेर्दै जाउ २०८४ मा हामी कहाँ हुन्छौँ, तिमीहरुको पनि हैसियत देखिन्छ ।’

उनले रास्वपा रवि लामिछानेको लागि नभई नयाँ पुस्ताका लागि केही गर्न आएको पार्टी भएको उद्घोष गरे । आफ्नो स्वार्थ पूरा गर्न राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको उनले आरोप लगाए । सहकारी पीडितको बचत रकम फिर्ता गराउने कुरामा सरकारलाई मतलब नभएको भन्दै अर्यालले अब बचत फिर्ता गराउने कुराको नेतृत्व रास्वपाले गर्ने उद्घोष गरे ।

कांग्रेस महामन्त्री गगन थापाप्रति कटाक्ष गर्दै उनले भने, ‘कसैको राजनीति बचाउनका लागि रवि लामिछानेलाई आहुति दिन खोज्नु पुराना दललाई महँगो पर्छ ।’