|  

सहकारीको विषय रवि स्वयंले पार लगाउनेमा बाबुरामको विश्वास

०३ कात्तिक, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणको अनुसन्धानमा सघाउने विश्वास आफूले लिएको बताएका छन् ।

आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले रवि स्वयंले यो विषय पार लगाउने विश्वास व्यक्त गरेका हुन् । उनले भने,‘जुन ढंगले उहाँलाई आरोप लगाइएको छ, त्यसमा सत्यता नभएपनि यो प्रक्रियाको निरुपणमा सघाउँछु भनिसक्नुभएकोले, यसलाई उहाँले पार लगाउनुहुनेछ भन्ने विश्वास छ ।’ 

त्यस्तै, उनले लोकतन्त्र विधिको शासन भएको र यसमा पादरर्शिता आवश्यक रहेको जिकिर गरे । रास्वपा सभापति लामिछानेलाई शुक्रबार नै प्रहरीले काठमाडौँबाट पक्राउ गरेर पोखरा लगेको थियो । लगत्तै, आज पोखरा पुगेका भट्टराईले संक्षिप्त रुपमा रविबारे धारणा राख्दै दोषी उम्कन नहुने र निर्दोषलाई कारबाही हुन नहुने बताए ।