|  

माओवादीको प्रश्न-रवि पक्राउ पर्दा धनराज र ऋषिकेशलाई किन छुट ?

०३ कात्तिक, काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सहकारीका बचतकर्ताको रकम ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसदसमेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न माग गरेका छन् । 

आज रोल्पाको लिवाङमा पत्रकारसँग पुनले त्यस्तै आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तर, गुरुङ र पोखरेललाई नछुने गर्न नमिल्ने बताएका हुन् । पुनले धनराज र ऋषिकेश सत्तारुढ दलका नेता भएकै कारण उन्मुक्ति दिन खोजिएको भए जनताले प्रतिवाद गर्ने चेतावनी दिए । राज्यका नियकाले गर्ने न्याय सम्पादन र अनुसन्धान सत्तापक्ष, प्रतिपक्ष वा पहुँच भएको र नभएको आधारमा नभई निष्पक्ष हुनुपर्ने उनको भनाइ थियो । पुनले सहकारी ठगीमा मुछिएका अरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गरे । उनले रास्वपा सभापति लामिछनेलाई पनि अनुसन्धानमा सहयोग गर्न आग्रह गरे ।

साथै उपमहासचिव पुनले प्रमुख दुई सत्ताघटक कांग्रेस र एमालेको सम्बन्धमा दरार उत्पन्न भएको दाबी गरे । पुनले सार्वजनिक रुपमै कांग्रेस नेताहरुले प्रधानमन्त्री केपी ओलीको कार्यशैली र सरकारको रबैयाप्रति आलोचना गर्न थालेबाट दुई दलबीचको सम्बन्धमा खटपट उत्पन्न भएको पुष्टि हुने बताए ।