|  

संगठित अपराधमा सहभागीहरु मन्त्रिपरिषदमा छनः डा.वाग्ले

०३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संगठित अपराधमा सहभागीहरू अहिलेको मन्त्रिपरिषदमा रहेको आरोप लगाएका छन् ।

आज पोखरामा आयोजित विरोध कार्यक्रममा बोल्दै उनले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने संगठित अपराधीहरू अहिलेको मन्त्रिपरिषदमा रहेको भन्दै उनीहरूबाट ध्यान मोड्न पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको बताए । उनले अहिले कुशासनको अभ्यास भइरहेको समेत टिप्पणी गरेका छन ।

रास्वपा सभापति एवं पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई शुक्रवार पार्टी केन्द्रीय कार्यालयबाट प्रहरीले पक्राउ गरेको थियो । सभापति पक्राउ पछि रास्वपाका नेता-कार्यकर्ताहरूले पक्राउ गरेकोमा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरिरहेका छन । सभापति लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान हुनेछ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।