|  

बाढीबाट क्षतिग्रस्त तामाकोशी जलविद्युत आयोजनाको मर्मतसम्भार शीघ्र थालिने 

०३ कात्तिक, काठमाडौं । बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मर्मतसम्भार शीघ्र थालिने भएको छ ।

आयोजनाको क्षतिग्रस्त संरचनाको निरीक्षणपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज आयोजनाको काम यथाशीघ्र थाल्ने बताएका हुन् । उनले आयोजनामा भएको क्षतिका कारण राज्यले अकल्पनीय घाटा व्यहोर्नुपरेको बताउँदै यथाशक्य चाँडो मर्मतसम्भार गरी विद्युत उत्पादन गरिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री खड्काले आयोजनाबाट चाँडोभन्दा चाँडो विद्युत उत्पादन गर्न सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता समेत दोर्होयाएका छन् ।

मन्त्री खड्कासँगै आयोजना निरीक्षणका लागि मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल गएका थिए ।