|  

सुपर‌ओभरमा जित निकाल्दै नेपाल र अमेरिकाबीचको टी-२० आई सिरिजको उपाधि एक खेल अगावै नेपाललाई

४ कात्तिक, काठमाडौं । अमेरिकाविरुद्धको टी-२० आई सिरिजमा नेपालले एक खेल अगावै उपाधि जितेको छ ।

खेल बराबरीमा सकिएपछि नेपालले सुपरओभरमा जित निकाल्दै लगातार दुई खेल जितेर उपाधि चुमेको हो । ३ रनको लक्ष्य पाएको नेपालले तीन रन बनाउँदै जित निकाल्यो । सुपर ओभरमा नेपालका लागि कप्तान रोहित कुमार पौडेलले दुई तथा कुशल भुर्तेलले एक रन बनाए ।

नेपालको जितका लागि सोमपाल कामीले सुपर ओभरमा दुई विकेट निकाले । त्यसअघि नेपालले दिएको १७१ रनको लक्ष्यमा अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।

अमेरिकाका लागि एन्ड्रिज घोसले सर्वाधिक ६२ रन बनाउँदा साइतेजा मुक्कमल्लाले ४७ रन बनाए । यस्तै मिलिन्द कुमारले १५ र सयान जहांगिरले १४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि करण केसीले ३ विकेट लिँदा सोमपाल कामीले २, सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले एक / एक विकेट लिए । 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धातिर २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो। नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाए। त्यसक्रममा भुर्तेलले सात चौका र ६ छक्का प्रहार गरे ।

यस्तै ओपनर अनिल साहले ३१ बलको सामना गर्दै चार चौका र एक छक्काको सहयोगमा २५ रन जोड्दा कप्तान रोहित कुमार पौडेलले १८ रन बनाए। मात्र १२ बलको सामना गरेका गुलशन झाले १९ तथा करण केसीले ६ रन बनाए । ओपनर आशिफ शेख १ रनमा एलबीडब्लु धरापमा परे भने दीपेन्द्र सिंह ऐरी २ रनमा क्याच आउट भए । र आरिफ शेख एक रनमा रनआउट भए ।

यता अमेरिकाका लागि नोस्तुज केन्जी र जसदीप सिंहले दुई / दुई विकेट लिँदा सौरभ नेत्रभालकरले एक विकेट लिए । खराब सुरुवात गरेको नेपालले तेस्रो नम्बरमा कुशल भुर्तेल क्रिजमा आएपछि आक्रामक अग्रता लिएको थियो ।