|  

कार्यवाहक दिने साम्पाङको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

४ कात्तिक, काठमाडौं । वडा अध्यक्षलाई कार्यबाहक नगर प्रमुखको जिम्मेवारी दिने धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।

अदालतले वडाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिनुको कारण पनि माग गरेको छ । आइतबार उपप्रमुख आइन्द्रबिक्रम बेघाले दायर गरेको रिटमा न्यायाधीश ध्रुवराज नन्दको इजालसले प्रमुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

साम्पाङले उपमेयर बेघा कार्यकक्षमा हुँदाहुँदै नाताले मामाससुरा पर्ने वडा नम्बर ११ का वडा अध्यक्ष लोकेन्द्र फागोलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएर बेलायत गएका थिए । बेलायतबाट उनी २ नोभेम्बरमा फर्कनेछन् ।

उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यबाहक दिएपछि धरानमा विवाद भएकाे थियाे । प्रमुखकाे निर्णयविरुद्ध उपप्रमुख बेघा अदालत गएका थिए ।

अदालतले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र धरान नगर कार्यपालिका कार्यविभाजन नियमावली, २०७४ मा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाट मेयर साम्पाङको निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो ।