|  

आफ्नै घरमा बालिकालाई बन्धक बनाई यौनधन्दा चलाउने एक महिला पक्राउ

०५ कात्तिक, काठमाडौं । बालिकालाई बन्धक बनाइ आफ्नै घरमा यौनधन्दा चलाउने एक महिला पक्राउ परेकी छन् ।

नुवाकोट तादी गाउँपालिका-३ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-४ मुलपानीमा बस्दै आएकी सीता गोतामे पक्राउ परेकी हुन् । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले पक्राउ गरेर उनलाई अदालतबाट म्याद लिएर मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान गरिरहेको छ । गोतामेले आफ्नो घरमा कामदारको रुपमा राखेकी बालिकामाथि नै यौनधन्दा चलाएको सुराकीको आधारमा प्रहरीले अनुसन्धान गरेको थियो ।

बालिकालाई मासिक २० हजार रुपैयाँ दिने भनि काममा लगाएको र घरबाट बाहिर निस्किन नदिई धन्दामा लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गोतामेले बालिकालाई वेश्यावृत्तिमा लगाएर एक हजारदेखि तीन हजार रुपैयाँसम्म लिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि कात्तिक २ गते सोहीघरबाट चारजना बालिकाको पनि उद्धार गरेको थियो । प्रहरीले गोतामेले आफ्नो घरबाहेक अन्यत्र पनि यसखाले धन्दा गरेको सूचना आएकोले त्यसमाथि अनुसन्धान भइरहेको जनाएको छ ।