|  

दसैँका लागि ल्याएका खसी च्याङ्ग्रा शतप्रतिशत बिक्री

०५ कात्तिक, काठमाडौं । सरकारले यो वर्ष दसैँका लागि ल्याएका खसी च्याङ्ग्रा शतप्रतिशत बिक्री भएका छन् ।

सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि १ हजार ८ सय वटा खसीबोका र च्याङ्ग्रा ल्याएको थियो । जसमध्ये १ हजार ५ सय वटा खसी बोका र ३ सय वटा च्याङ्ग्रा ल्याएर प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट असोज २० गतेदेखि बिक्री गरिएको थियो । उक्त  खसीबोका तथा च्याङ्ग्रा शतप्रतिशत बिक्री भएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन । खसी च्याङ्ग्रा १० रुपैयाँ छुटसहित बिक्री गरेको थियो । जिउँदो खसीको मूल्य प्रतिकिलो ६ सय ७० निर्धारण गरि १० रुपैयाँ छुट गरेर ६ सय ६० रुपैयाँ र च्याङ्ग्रा जिउँदो प्रतिकिलो १ हजार २ सय २० रुपैयाँमा बिक्री गरेको थियो ।

गतवर्ष कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० र च्याङ्ग्राको मूल्य प्रतिकिलो १ हजार २ सय ५० रुपैयाँ तोकेको थियो ।
उक्त मूल्यमा बिक्री नभएपछि पछि भाउसमेत घटाइएको थियो । जसअनुसार खसीको २० रुपैयाँ सहुलियत दिँदै ६ सय ५० र च्याङ्ग्राको २५ रुपैयाँ सहुलियत दिएर १ हजार २ सय २५ रुपैयाँ कायम भएको थियो । तर पनि बिक्री नभएर  लामो समयसम्म बिक्री हुन सकेका थिएनन ।  गत वर्ष २ हजार वटा खसीबोका र ५ सय ४२ वटा च्याङ्ग्रा ल्याएको थियो । ती कुल च्याङ्ग्राामध्ये ४ सय ९५ वटा बिक्री भएका थिए भने ४७ च्याङ्ग्रा बाँकी थिए । तीमध्ये कुकुरको टोकाइबाट २५ च्याङ्ग्रा मरेका थिए भने बचेका २२ वटा च्याङ्ग्रा १ हजार १५ रुपैयाँ प्रतिकिलोका दरमा दसैँपछि बिक्री गरिएको थियो ।