|  

ठूलो आवाज निकालेर मोटरसाइकल कुदाउनेहरुको भिडिओ खिचेर पठाएमा ५ हजार पुरस्कार

०५ कात्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मोटरसाइकलमा ठूलो आवाज निकालेर कुद्ने चालकहरूको भिडिओ खिचेर पठाएमा ५ हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।

ध्वनि प्रदूषण नियन्त्रण गर्नका लागि नगरपालिकाले यस्तो अभियान सुरु गरेको हो । नगरप्रमुख दीपक कुमार रिसालले जारी गरेको सूचनामा साइलेन्सर मोडिफाई गरेर ठूलो आवाज निकाल्ने मोटरसाइकल चालकहरूको भिडिओ ह्वाट्सएपमार्फत पठाउन प्रोत्साहन गरिएको छ । सूचना पाएपछि ठूलो आवाजमा मोटरसाइकल चलाउने चालकलाई कारबाही गरिने छ । जरिवाना तिराइने छ । जो कसैले पनि सवारी नम्बर र फोटोसहित ९८५१२९६३१२ मा सूचना पठाएर पुरस्कार जित्न सक्नेछन ।

नगरपालिकाले यस्तो कदम चाल्नुको मुख्य कारण वातावरणीय प्रदूषण र शान्त जीवनयापनमा असर पुगेको बताएको छ । जानकारी दिने व्यक्तिको नाम गोप्य राखिने छ । सूचना दिनेको नाम गोप्य राख्ने प्रावधानले यस अभियानमा सर्वसाधारणको सहभागिता बढ्ने विश्वास नगरपालिकाले लिएको छ ।