|  

पार्टीविरुद्ध गलत प्रचार भइरहेको माधव नेपालको आरोप

०५ कात्तिक, काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको चर्चा चलाएर विरोधीहरू आत्मरतिमा लागेको टिप्पणी गरेका छन् ।

लुम्बिनी प्रदेशस्तरीय भेलालाई कपिलवस्तुमा आज सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । नेता नेपालले अहिले पनि देशका विभिन्न स्थानमा आफ्नो पार्टीमा प्रवेश गरिरहेकाले विरोधीहरूले चलाएका अफवाहबाट निराश नहुन आग्रह गरे । कम्युनिष्ट आन्दोलनको इतिहास बचाउनका लागि आफ्नो पार्टी गठन भएको र यसको औचित्य पूरा भइरहेको उनले बताएका छन् ।

नेपालले भने, ‘पार्टी गठनको औचित्य पूरा हुँदै गएको छ, जुन उद्देश्यका लागि हामीले पार्टी बनाएका थियौं, त्यो पूरा भइरहेको छ, हामी हल्लाको पछि लागेर हिँड्ने होइन, हाम्रो पार्टीले नेपाली राजनीतिमा गरेको योगदानको चर्चा भएको छ । पार्टी विलीन हुन लागेको अनर्थ चर्चा हो, एमालेमा विलीन हुने, माओवादीमा विलिन हुने हल्ला चलाइएको छ, त्यो बेकारको हल्ला हो, हामी आफ्नो अस्तित्वमा चलिरहेका छौँ, यो हामीलाई कमजोर बनाउनेहरूको हल्ला हो, आत्मरति हो, कागले कान लग्यो भनेर नदौडिनुस कान छाम्नुस ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पार्टीको हरेक जिम्मेवारीमा रहेका नेताहरूले जनतालाई चित्त बुझाउने काममा अघि बढ्न आग्रह गरे । पार्टीको महाधिवेशनमा पराजित भएकाहरूले अहिले पार्टीविरुद्ध गलत प्रचार गरिरहेको उनको आरोप छ ।