|  

वर्तमान सरकार आगामी चुनावसम्म टिक्छः प्रदीप ज्ञवाली

०५ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको बताएका छन् ।

एमाले स्कुल विभागद्वारा हुम्लाको सिमकोटमा आजदेखि सुरु प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले देशमा अस्थिरता र भ्रष्टाचार बढेको भन्दै  एमाले र कांग्रेसबीच बनेको गठबन्धन सरकारले शिथिल अर्थतन्त्रलाई उकासि मुलुकलाई निकासा दिने दाबी गरे । साथै उनले वर्तमान सरकार आगामी चुनावसम्म टिक्ने समेत दाबी गरे ।

उपमहासचिव ज्ञवालीले कांग्रेस र एमाले मुलुकका मुख्य प्रतिस्पर्धी पार्टी भए पनि अहिलेको सहकार्य आवश्यकताका आधारमा भएको बताए । वि.सं २०४७ साल यता संविधान संशोधन, विभिन्न निर्वाचनदेखि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने विषयमा पनि दुवै पार्टी मिलेको उनको भनाइ छ ।